३४७ व्यावसायिक फर्म कारबाहीमा

काठमाडौं: वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मापदण्ड विपरीत कारोबार गर्ने ३४७ वटा व्यावसायिक फर्मलाई कारबाही गरेको छ । चालू आर्थिक वर्षको साउनदेखि असोज १२ सम्ममा एक हजार एक सय ४६ वटा व्यावसायिक फर्म अनुगमन गर्दा ३४७ वटा व्यावसायिक फर्मलाई कारबाही गरेको हो । मापदण्ड उल्लघंन गरी व्यवसाय गर्ने ३४७ वटा फर्मलाई कारबाही गरी ९२ लाख २५ हजार रुपैयाँ जरिवानासमेत गरेको विभागले जनाएकाे छ ।

विभागका अनुसार ३४ वटा फर्मबाट एक करोड एक लाख ९० हजार मूल्य बराबरका वस्तु नष्ट गरिएको छ । विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ को मापदण्ड विपरीत व्यापार व्यवसाय गरेको पाइएमा तत्कालै कारबाही गर्दै आएको छ । अनुगमनका क्रममा व्यापारीले मापदण्डविपरीत व्यापार व्यवसाय गरेको पाए तत्कालै पाँच हजारदेखि तीन लाख रुपैयाँसम्मको जरिवाना र तीन महिनादेखि छ महिना कैद गर्न पाउने अधिकार विभागका निरीक्षण अधिकृतलाई सुनिश्चित गरेको छ ।

सोही अधिकार बमोजिम विभागको बजार निरीक्षण अधिकृतले मापदण्डविपरीत व्यापार व्यवसाय गरेको फेला पार्दा ठाउँको ठाउँका पाँच हजारदेखि तीन लाख रुपैयाँसम्म जरिमाना र कारबाही गर्दै आएको छ । बिल विजन नराख्ने मूल्यसूची नराख्ने र तोकेको भन्दा बढी मूल्य राखी सामान बिक्री गरी उपभोक्ता ठग्ने व्यावसायिक फर्मलाई कारबाहीमा गर्ने गरेको विभागले जनाएको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ मा कुनै पनि व्यवसाय गर्ने व्यवसायीले उपभोक्तालाई देखिने गरी मूल्यसूची र वस्तुको बिल बिजक अनिवार्य रुपमा दिनुपर्ने कानुनी व्यवस्था छ ।

तर, व्यापारीहरुले कानुनको पालन नगर्दा धेरै कारबाहीमा परेको विभागले जनाएको छ । चालू आर्थिक वर्षको साउनदेखि असोज १२ सम्मको विभागको तथ्यांकअनुसार एक हजार १४६ वटा व्यापारिक फर्म अनुगमन गर्दा ३४७ फर्मलाई जरिवाना गरिएको छ । यो गत वर्षको तुलनामा ५५ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा एक हजार एक फर्म अनुगमन गर्दा २२४ फर्म कारवाहीमा परेका थिए ।

चाडपर्व लक्षित अनुगमनअन्तर्गत विभागको नेतृत्वमा वातावरण विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, गुणस्तर तथा नापतौल विभाग, औषधि व्यवस्था विभाग, आन्तरिक राजस्व विभाग, जिल्ला प्रशासन कार्यालयसहितको संयुक्त अनुगमन टोलीबाट दैनिक औषत ३५ वटा फर्मको अनुगमन गरेको छ । चाडपर्व लक्षित अनुगमनतर्फ आगामी हप्ताबाट थोक बिक्रेता, गोदामहरु र अधिक मूल्यवृद्धि भएका वस्तुको अनुगमन कार्यलाई तीव्र पारिने विभागले जनाएको छ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग तथा तीनै तहका सरकारबाट चाडपर्व लक्षित अनुगमन भइरहेको छ । स्रोतगत तथा लागत मूल्य आदि कारणले गर्दा कायम हुने वा हुनुपर्ने स्वभाविक मूल्य भन्दा अतिरिक्त कुनै बहाना बनाई आधारहीन तरिकाले वस्तु वा सेवाको उद्योग (उत्पादन) मूल्य, होलसेल मूल्य, खुद्रा मूल्य कायम गर्ने तथा मौज्दात लुकाउने जस्ता कार्य नगर्न व्यवसायीलाई निर्देशन दिएको विभागका महानिर्देशक तीर्थराज चिलुवाल जानकारी दिए । अनुगमनका क्रममा त्यस्तो गरिएको पाइएमा हदैसम्मको कारबाही गर्ने चेतावनीसमेत दिएको उनले बताए ।

बजार स्वच्छ बनाउन नेपालमा सञ्चालित विभिन्न उद्योगको हकमा प्रतिइकाई उद्योग लागत मूल्य तथा प्रतिइकाई कच्चा पदार्थ लागत अनुपातका सम्बन्धमा वस्तुको प्रकृति अनुसारका सम्बन्धित अनुमति/इजाजत दिने निकायसँग समेत आवश्यकता अनुसार समन्वय गरिएको उनले बताए । महानिर्देशक चिलुवालले देशभरका सबै व्यापारिक क्षेत्र तथा मालवस्तु कारोबार स्थलमा एकै पटक पुग्न नसक्ने हुँदा अवाञ्छित मूल्यवृद्धि, कम गुणस्तर तथा कृत्रिम मौज्दात कायम गर्नेसँग सम्बन्धित कुनै सूचना जानकारी भए विभागलाई जानकारी गराउन आम उपभोक्तालाई अपिल गरेको बताए ।

उनले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा कार्यरत निरीक्षण अधिकृतले प्रयोग गर्नसक्ने बजार अनुगमन सम्बन्धी सबै काम गर्ने तथा अधिकार प्रयोग गर्ने गरी उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३२ बमोजिम सम्पूर्ण जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय, सातै प्रदेश सरकारका उपभोक्ता हेर्ने मन्त्रालय तथा कार्यालय तथा ७५३ पालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट अधिकार प्रत्यायोजन गरिएको जानकारी दिए ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५