देशभर संगठन निर्माणमा होमिने रास्वपाको घोषणा

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अब देशभर संगठन निर्माणमा ध्यान दिने भएको छ । रास्वपाले जनताको मुद्दालाई प्राथमिकता दिँदै देशव्यापी संगठन निर्माणमा होमिने घोषणा गरेको हो ।

शुक्रबार पार्टी कार्यालय बसुन्धरामा बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकबाट रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै संसदमा विपक्षी बेन्चमा बस्ने निर्णय लिएको छ ।

सोबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सभापति रवि लामिछानेले जनमत र जनभावनाको कदर गर्दै विपक्षी बेन्चमा बस्ने निर्णय भएको जानकारी दिए ।

‘हामीले जनमत र जनभावनाको कदर गर्नुपर्ने हुन्छ । उपनिर्वाचनले हामीलाई दिएको म्यान्डेट र अधिकांश हाम्रा शुभचिन्तक (देशभित्र र देशबाहिर रहेका नेपालीहरु)को भावना नै सशक्त प्रतिपक्षको भूमिका तपाईँहरूले गर्नुपर्छ भन्ने थियो’, सरकारबाट बाहिरिनुको कारण खुलाउँदै रविले भने ।  अब पार्टीलाई चुस्त बनाएर अघि बढ्नुपर्ने बेला आएको भन्दै रविले त्यही अनुरुप पार्टी अघि बढ्ने बताए ।

‘हामीले पार्टीभित्र धेरै काम गर्नुपर्ने छ। विशेषगरी संगठन निर्माणलाई अगाडि पनि लैजानुपर्छ’, उनले भने, ‘हामीले जनभावनाअनुसार काम गछौँ  । संगठन निर्माणलाई प्राथमिकता दिन्छौँ ।’

उनले रचनात्मक प्रतिपक्षी कस्तो हुनुपर्छ भनेर धेरैले हेर्न चाहेको भन्दै पार्टीले त्यो देखाउने प्रयास गर्ने बताए । ‘जनताका, समाजका र राष्ट्रिय मुद्दालाई रास्वपाले कुन ढंगले राख्छ भन्ने आम जनताले हेर्न चोकका छन् । यसमा ठूलो योगदान दिन सकिन्छ भन्ने हाम्रो विश्वास छ’, रविले भने ।

उनले पार्टी सरकार बनाउने या ढाल्ने खेलमा नलाग्ने बताए । तर अस्थिरता हुने अवस्था आएमा भने पार्टी चुप बस्न नसक्ने स्पष्ट पारे ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५