डेढ वर्षपछि परिवारसँग पुनर्मिलन

दैलेख: एक वर्ष छ महिना पछि दैलेखमा एक बालिकाको परिवारसँग पुनर्मिलन गरिएको छ । सोसेक नेपालको बाल हेल्पलाइनले डेढ वर्षदेखि संरक्षणमा राखिएकी पाँच वर्षीया बालिका ऋतु सिंहलाई जनप्रतिनिधि र प्रहरीको रोहवरमा अभिभावकसँग पुनर्मिलन गरिएको हो ।

दुल्लु नगरपालिका वडा नम्बर ८ घर भई हाल भैरवी गाउँपालिका–३ छड्ने बस्तै आएका अभिभावकको जिम्मा लगाइएको बाल हेल्पलाइन दैलेखका संयोजक रमा श्रेष्ठले जानकारी दिएकी छन् । उनका अनुसार भैरवी गाउँपालिकाका अध्यक्ष रिता शाही, उपाध्यक्ष देवी भण्डारी, दुल्लु नगरपालिका–८ का वडाध्यक्ष सुशील भण्डारी, भैरवी प्रहरी चौकीका इन्चार्ज असई टीएन सारूको रोहवरमा बालिकाका बुबा दलबहादुर सिंह र आमा गौरी सिंह ठकुरीको जिम्मा लगाइएको छ ।

बुबा–आमा भारत गएको बेला आफन्त कहाँ बस्तै आएकी ऋतुलाई दुल्लु नगरपालिका–४ नेपा स्थित २०७८ मङ्सिर ११ गते राति गाउँमा छाडेको अवस्थामा अलपत्र फेला पारेपछि दुल्लु इलाका प्रहरीले बाल हेल्प लाइनमा संरक्षणको लागि पठाएको थियो । टाउको लगायत जिउभरि घाउचोट लागेको र कुपोषित अवस्थामा रहेकोले दैलेख अस्पतालको पोषण केन्द्रले संरक्षण गर्ने अभिभावक विना राख्न नसक्ने भनी पन्छिएपछि बाल हेल्पलाइनले २०७८ मङ्सिर १२ गतेदेखि २०८० वैशाख १९ गतेसम्म संरक्षण र पालन पोषण गरेको जानकारी दिइएको छ ।

बोल्न नसक्ने सुस्त मनस्थितिकी बालिकाको पहिचान गरिसक्दा पनि समुदायका आफन्त वा अरू कुनै निकायले पालनपोषणको तत्परता नदेखाएपछि बाल हेल्पलाइनले संरक्षकत्वसँगै दुल्लु नगरपालिका ८ नं.वडा कार्यालयसँग समन्वय गरी जन्मदर्ता र अपाङ्गता परिचयपत्र गराइएको छ ।

बालिका फेला परेको साढे चार महिनापछि २०७८ चैत २२ गते बहुअपाङ्गता ‘ख’ वर्गको अपाङ्गता परिचयपत्र बनिसकेको तर अभिभावक संरक्षक बैङ्क खाता नखुलेको कारण रहेर सामाजिक सुरक्षा भत्ता मिलेको थिएन । बालिकाको बुबा वा आमा संरक्षक रहेर बैङ्क खाता खोल्ने सामाजिक सुरक्षा भत्ता दिलाउने बारे दुल्लु नगरपालिका ८ नं. वडा कार्यालयसँग सल्लाह भएको बाल हेल्पलाइनका बाल संरक्षण अधिकृत प्रभाकुमार बिकले बताए ।

अभिभावकलाई आफ्ना बालबालिकाप्रति जिम्मेवारी बोध गराउन, पारिवारिक सम्बन्ध प्रभावकारिता बढाउन बाल हेल्प लाइनमा डेढ वर्ष संरक्षण गरी राखिएकी बालिकालाई पुनर्स्थापना गराइएको सोसेक नेपालका कार्यकारी निर्देशक हीरासिंह थापाको भनाई छ । ज्वाला संदेशबाट

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५