एमालेका योगेन्द्र शाहीद्वारा पार्टी परित्याग

दैलेखः नेकपा (एमाले) को केन्द्रीय अर्थ तथा योजना विभागका सचिव योगेन्द्र शाहीले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

एमाले कर्णाली प्रदेश कमिटीको सदस्य समेत रहेका शाहीले एक प्रेस विज्ञप्ति जारी गर्दै एमाले परित्याग गरेको घोषणा गरेका हुन् ।  उनी घनश्याम भुसाल निकट मानिन्छन् । दैलेखको एमाले राजनीतिमा बौद्धिक छवि बनाएका शाही दैलेख निर्वाचन क्षेत्र नं–२ (ख) बाट प्रदेश सभाको उम्मेदवारका लागि सिफारिस भएका थिए ।

यद्यपि उनले टिकट पाउन सकेनन् । घनश्याम भुसालको एमाले परित्याग र टिकट नपाएको झोँकमा शाहीले पार्टी छाडेको एमाले स्रोतको दाबी छ ।

प्रदेश योजना आयोगका पुर्व सदस्य समेत रहेका शाहीले विज्ञप्तिमा भनेका छन्,‘ एमालेमा राजनीतिक फरक विचार प्रति देखिएको चरम असहिष्णुता र निषेध, एकलौटी मनमौजी निर्णय, इमान्दार र सोझा कार्यकर्तालाई पाखा लगाई चाटुकार र आसेपासेलाई पार्टीमा स्थान दिनदेखि अझ पछिल्लो अवधिमा क. भीम रावल र घनश्याम भुसालमाथि साँधिएको चरम पूर्वाग्रह जस्ता कृयाकलाप एक लोकतान्त्रिक पार्टीको जीवनमा कल्पना गर्न नसकिने विषय हो । यस्तै विविध असंगतिपूर्ण क्रियाकलाप र पूर्वाग्रही सोचका कारण मैले नेकपा एमाले नेतृत्वमा विवेक, चिन्तन र स्वतन्त्रता भाव हराएको महसुस गरी आजकै दिनदेखि नेकपा एमाले परित्याग गरेको छु ।’

यस्तो छ शाहीको विज्ञप्ति
प्रेश विज्ञप्ति
सानै उमेरदेखि लोकतान्त्रिक वामपन्थी आन्दोलनमा होमिएको मेरा लागि यही आन्दोलनमार्फत् नेपालको स्वाभिमान, राष्ट्रियता, समृद्धि र समानता हासिल गर्न सकिन्छ भन्ने अगाध विश्वास रहेको छ । यही भएर नै हामी लोकतन्त्रका लागि लड्दै कम्युनिस्ट आन्दोलन एकिकृत हुन पर्दछ भनी मूल प्रवाहमा समाहित भएका थियौं । बिभिन्न बेलामा वामपन्थीहरु र प्रजातान्त्रिक शक्तिहरुमाझ देखा परेका विभाजनका कारण नेपालले निरन्तर राजनीतिक अस्थिरता भोगी समानता, न्याय, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको आन्दोलन कमजोर भएको दृश्य हाम्रा अगाडि ताजै छ । लाखौं इमान्दार कार्यकर्ताको रगत र पसिनाबाट नै हरेक प्रगतिशिल आन्दोलनको आत्मा तयार हुन्छ । तर जब जब सत्ता र शक्तिका लागि नेतृत्व र पार्टीले आन्दोलनको मर्म, सिद्धान्त, कार्यकर्ताको रगत, पसिना र आँसु विर्सन्छ, यही विन्दूबाट चरम गुटबन्दी, सत्ता मोहका कारण हतकन्डाहरु, विचारविहिनता र सिद्धान्तविहिनताको परकास्टा शुरु हुन्छ ।

हामीले एकिकृत नेकपाको पुनर्गठनले नेपालमा राजनीतिक स्थिरता, समृद्धि र आम समानता ल्याउने अपेक्षा गरेका थियौं । अन्तरपार्टी सघर्षलाई लिएर पटक पटर गैर जिम्मेवार तवरले गरिएको संसद विगठन जस्तो कार्यप्रति असहमति हुँदा हुँदै पनि पार्टीलाई सकभर विभाजन नगरौं भन्ने मनसायले १० बुँदे सम्बद्ध नेता र कार्यकर्ताहरु एमालेमै उभिन पुगेका थिए । तर पनि नेकपा एमालेमा राजनीतिक फरक विचार प्रति देखिएको चरम असहिष्णुता र निषेध, एकलौटी मनमौजी निर्णय, इमान्दार र सोझा कार्यकर्तालाई पाखा लगाई चाटुकार र आसेपासेलाई पार्टीमा स्थान दिने देखि अझ पछिल्लो अबधिमा क। भिम रावल र घनश्याम भुसालमाथि साँधिएको चरम पूर्वाग्रह जस्ता कृयाकलाप एक लोकतान्त्रिक पार्टीको जीवनमा कल्पना गर्न नसकिने विषय हो । नेकपा एमालेमा देखिएका यस्तै विविध असंगतिपूर्ण क्रियाकलाप र पूर्वाग्रही सोचका कारण मैले नेकपा एमाले नेतृत्वमा विवेक, चिन्तन र स्वतन्त्रता भाव हराएको महसुस गरी आजकै दिनदेखि नेकपा एमाले परित्याग गरेको छु ।

तरपनि नेपालमा वाम प्रजातान्त्रिक आन्दोलनलाई अझ बलियो र शसक्त बनाउन नेकपा एमाले, नेकपा माओवादी, नेकपा समाजवादी लगायत सबै कम्युनिस्टका साथै नेपाली कँग्रेस लगायत प्रजातान्त्रिक पार्टीमा रहेका सहयोद्धाहरुसँग सहकार्यलाई निरन्तरता राख्ने प्रतिवद्धता ब्यक्त गर्न चाहन्छु । देश र जनताको प्रगति र अग्रगमनका लागि हाम्रो अथक प्रयास र एक्यवद्धता निरन्तर जारी रहने नै छ ।
योगेन्द्र बहादुर शाही
सचिव
नेकपा एमाले केन्द्रीय अर्थ तथा योजना विभाग
२०७९ असोज २२

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५