दैलेख: सहकारीसङ सम्बन्धित नीति तथा कार्यक्रम बनाउन स्थानीय सरकारले प्राथमिकता दिन आवश्यक भएको प्रतिनिधिसभा सदस्य रवीन्द्रराज शर्माले बताएका छन् ।
गोठपाँडा कृषि सहकारी संस्थाको १६ औँ वार्षिक साधारण सभा कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका शर्माले स्थानीय सरकाले कृषि क्षेत्रमा विशेष जोड दिई कृषक सहकारी नीति कार्यक्रम ल्याउन जरुरी रहेको बताएका हुन् ।
कृषकको आय आर्जनलाई ख्याल गरी कृषि क्षेत्रमा पुरानो शैलीले नहुने भन्दै नयाँ आधुनिक कृषि प्राणालीवाट आय आर्जनका काम गर्न आवश्यक रहेको उनले बताएका छन् । संस्थाको सफलताको शुभकामना व्यक्त गर्दै प्रतिनिधिसभा सदस्य शर्माले दैलेखमा कृषि क्षेत्रमा लगानी गर्न विभिन्न निकायसँग समन्वय गरी आवश्यक काम गर्न यस सहकारीले महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।
सहकारीले आर्थिक समृद्धिमा धेरै टेवा पु¥उने भएकाले यसमा आबद्ध हुन आवश्यकता रहेको नेपाल पत्रकार महासङ्घ दैलेखका अध्यक्ष यज्ञराज थापाले बताए । सहकारी सङ्घसंस्थाहरू सङ्घ प्रदेश तथा स्थानीय सरकारको नजरमा नपरेकाले यसका लागि सरकारले कुनै नीति बनाई प्रोत्साहन गर्न जरुरी रहेको अध्यक्ष थापाले बताए ।
गोठपाँडा सहकारी संस्थाको वार्षिक साधारण सभामा शुभकामना व्यक्त गर्दै अध्यक्ष थापाले सामाजिक रूपमा समाजमा केही न केही गरिरहेका व्यक्तिलाई थप हौसला प्रदान गर्न समाचारका माध्यम वाट पत्रकारहरूले अझै विशेष जोड दिन आवश्यक रहेको बताए । नारायण नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष जनक न्यौपानेले सहकारी संस्था देशको आधारशिला भएकाले यसको संरक्षण गर्न आवश्यक रहेको बताए ।
जिल्ला कृषि विकास कार्यालय दैलेखका प्रमुख घनश्याम कार्कीले यस सहकारीले जिल्लामा राम्रा काम गर्दै आएकाले अझ यसले जिल्ल बाहिर पनि आफ्ना गतिविधि बढाउन सके सहकारीको औचित्य बढ्ने बताए । साथै उनले कृषि कार्यालयले सहकारीलाई आवश्यक सहयोग गर्न आफू तयार रहेको बताए ।
नारायण नगरपालिका भित्र रहेका सहकारीहरूको अवस्थाका बारेमा नगरले चासो दिएको बत्ताउँदै नारायण नगरपालिका दैलेखका नगरप्रमुख लोमन शर्माले कसरी नगरपालिकाका कार्यक्रममा समेट्न सकिन्छ भन्ने बारेमा छलफल भएको बताए ।
गोठपाँडा सहकारीले जिल्लामा गरेका कामको प्रशंसा गर्दै नगर प्रमुख शर्माले नारायण नगरपालि दैलेख सहकारीसङ आवश्यक परे साझेदारीका काम गर्न तयार हरेको बताए ।
जिल्ला समन्वय समिति दैलेखका प्रमुख नमराज शाहीले सहकारीले सबैलाई गोलबद्ध गरी पारिवारिक सद्भावको अपनत्वको आभास हुने भएकाले सबै सहभागी हुन आवश्यक रहेको बताए ।




खुल्ला प्रेस । २४ भाद्र २०७९, शुक्रबार १९:४९