राष्ट्रियसभा निर्वाचनको मौन अवधि सुरु

काठमाडौं: राष्ट्रियसभा सदस्यको यही माघ १२ गते बुधबारदेखि हुने निर्वाचन प्रयोजनका लागि आइतबार राति १२ बजेदेखि मौन अवधि सुरु भएको छ ।

निर्वाचन आयोगले मौन अवधि शुरू हुनुभन्दा अगाडि नै निर्वाचन चिह्न, प्रचार सामग्री हटाउनुपर्नेलगायतका आचरण पालना गर्न सबैलाई आग्रह गरेको छ। यो अवधिमा निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नहुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

‘मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचारप्रसारका सामग्री हटाएको हुनुपर्छ। एसएमएस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत समेत मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न पाइनेछैन,’ आयोगद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ।

आयोगले मौन अवधिमा उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने भएको हुँदा आचरणहरु पालना गर्न/गराउन सबैसँग अनुरोध गरेको छ।

यसैबीच उक्त निर्वाचनका लागि निर्वाचक मण्डलको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले प्रदेशसभा सदस्य, गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख वा उपप्रमुखमा निर्वाचित भएको प्रमाणपत्रका आधारमा मतदान गर्न सकिने छ ।

आयोगका अनुसार स्थानीय तह निर्वाचन, २०७४, प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७४ र उपनिर्वाचन, २०७६ मा आयोगबाट जारी भएको मतदाता परिचयपत्रका आधारमा पनि मतदान गर्न सकिनेछ ।

नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्रका आधारमा निर्वाचक मण्डलको अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन आयोगले सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ ।

राष्ट्रियसभामा आगामी फागुन २० गते रिक्त हुने १९ पदका लागि लागि सातवटै प्रदेशमा माघ १२ गते मतदान हुँदैछ। निर्वाचनमा नौ दलका ४३ जना उम्मेदवार छन्। प्रदेश १ मा तीन, प्रदेश २ मा दुई, वागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिममा तीन पदका लागि निर्वाचन हुनेछ।

सो निर्वाचनमा प्रदेशसभा सदस्य ५ सय ३२ तथा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष एवम् नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरू १ हजार ४ सय ९३ गरी जम्मा २ हजार २५ जना मतदाता छन्।

आयोगका अनुसार निर्वाचनमा हरियो र रातो रङको मतपत्र प्रयोग हुनेछ। रातो रङको मतपत्र स्थानीय तहका प्रमुख र उपप्रमुखले प्रयोग गर्नेछन्। हरियो रङको मतपत्र भने प्रदेश सभा सदस्यले प्रयोग गर्नेछन्। स्थानीय तहका प्रमुखको मतभार १८ र प्रदेश सभा सदस्यको मतभार ४८ निर्धारण गरिएको छ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५