दैलेखमा १ सय २२ सहित कर्णाली सरकारले गर्याे एक हजार ५५ आयोजना छनोट

सुर्खेत । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षमा मुख्यमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनका लागि प्रदेशभर १ हजार ५५ आयोजना छनोट गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रदेशका १० वटै जिल्लामा चालु आवमा कार्यान्वयन गर्न छनोटमा परेका आयोजनाको सूची तयार गरिएको हो ।

कार्यक्रमका लागि अनलाईनबाट नै आयोजनाहरूको सूची संकलन गरिएको थियो । अनलाईनमार्फत आएका १४ सय निवेदनबाट १ हजार ५५ आयोजनाहरूलाई छनोट गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता केशवप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

उहाका अनुसार योजना छनोटका केही निश्चित मापदण्डहरू थिए र तिनै मापदण्डमा रहेर आयोजनाहरू छनोट गरी सूची तयार गरिएको हो ।

चालु आवमा प्रदेश सरकारले कार्यक्रमअन्तर्गत प्रत्येक घर स्वरोजगार कार्यक्रम अघि बढाउन १ अर्व ४९ करोड ४१ लाख ५६ हजार रुपैयाँ बजेट प्रदेश सरकारले विनियोजन गरेको छ । जनसंख्या, गरिबी र दुर्गमताको आधारमा एउटा वडामा न्यूनतम ३० लाखसम्म बजेट पठाइएको प्रवक्ता उपाध्यायले बताउनुभयो ।

कार्यक्रमअन्तर्गत चालु आवभित्र कालिकोटमा १ सय ६, हुम्लाका ७७ जुम्लाका ९६, डोल्पाका ६९ र मुगुका ६५ आयोजनाहरूमा काम गर्नेछ । यस्तै, दैलेखका १ सय २२, रुकुम पश्चिमका १ सय १०, सल्यानका १ सय ५०, सुर्खेतका १ सय ५४ र जाजरकोटका १ सय ५ योजनाहरूको काम हुनेछन ।

कर्णाली सरकारले १२ लाख ६० हजारलाई रोजगारी दिने भन्दै आर्थिक वर्ष ०७६र७७ देखि कार्यक्रम सुरु गरेको हो । कार्यक्रम सुरु गरेको वर्ष प्रदेश सरकारले ९० करोड रुपैयाँ विनियोजन गरेको थियो ।

रोजगार कार्यक्रम सुरु भएको पहिलो वर्ष प्रदेश सरकारले करिब ८० करोड बजेट प्रदेशका ७९ वटै स्थानीय तहहरूमा पठायो । तर पहिलो वर्ष छुट्टिएको उक्त बजेट तथा कार्यक्रमबाट कुन स्थानीय तहका कतिले रोजगारी पाए भन्नेबारे सरकारले एकिन तथ्यांक भने छैन ।

प्रदेश सरकारले गत आर्थिक वर्ष पनि ४ अर्ब ७६ करोड बजेट विनियोजन गरेको थियो । उक्त बजेट मध्ये ३ अर्ब ८९ करोड बजेट खर्च भयो भने बाँकी ८७ करोड रुपैयाँ बजेट फ्रिज भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५