समानुपातिकमा रास्वपाबाट ४७ महिला अनिवार्य हुँदा अन्य दलबाट कति ?

काठमाण्डाै‌ः संघीय संसदमा ३३ प्रतिशत महिलाको अनिवार्य उपस्थिति हुनुपर्ने संवैधानिक व्यवस्था प्रतिनिधिसभामा कार्यान्वयन गर्नुपर्ने समय आइपुगेको छ । निर्वाचन आयोगले समानुपातिक तथा प्रत्यक्षतर्फका मतगणना सम्पन्न भएको जानकारी दिएको छ ।

संघीय संसद सचिवालयका अनुसार ५९ सदस्यीय राष्ट्रियसभामा हाल २१ जना महिला सदस्य छन् । समानुपातिक निर्वाचन निर्देशिका, २०८२ अनुसार संघीय संसदमा ३३ प्रतिशत महिला हुनैपर्ने प्रावधानअनुसार रास्वपाबाट सबैभन्दा बढी महिलाले अवसर पाउनेछन् । कारण राष्ट्रियसभामा उसको प्रतिनिधित्व छैन ।

समग्रमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फबाट भने १४ जना मात्रै महिला निर्वाचित भएका छन् । यसरी दुवै सदनमा हाल ३५ जना महिला पुगेका छन् । यो संघीय संसदको १० प्रतिशत मात्र हुन आउँछ । नपुग प्रतिशत अब प्रतिनिधिसभाको चुनावमा समानुपातिक प्रणालीतर्फबाट पुर्‍याउनुपर्ने हुन्छ ।

राष्ट्रियसभाका ५९ र प्रतिनिधिसभाका २७५ गरी संघीय संसद ३३४ सदस्य हुँदा ३३ प्रतिशत पुर्‍याउन १११ जना महिला हुनुपर्ने कानुनी व्यवस्था छ ।

रास्वपाबाट ४७ महिला अनिवार्य

रास्वपाको राष्ट्रियसभामा प्रतिनिधित्व नभएपछि उसले महिला कोटाबाट धेरै सांसद बनाउनुपर्ने हुन्छ । उसले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ गरी १८२ सिट पाउनेछ । यो संख्याको ३३ प्रतिशत पुर्‍याउन ६० महिला आवश्यक पर्छ । प्रत्यक्षतर्फ १३ महिला निर्वाचित भइसकेकाले अब रास्वपाले समानुपातिकबाट ४७ महिला अनिवार्य पठाउनुपर्नेछ ।

कांग्रेसमा १५ महिला अनिवार्य

कांग्रेसबाट राष्ट्रियसभामा २४ सदस्य छन् । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १८ सदस्य छन् । यसरी ६२ सदस्यको ३३ प्रतिशतअनुसार कम्तीमा २१ महिला आवश्यक पर्छ । अहिले राष्ट्रियसभामा ५ र प्रतिनिधिसभामा निर्वाचित १ गरी ६ महिला रहेकाले कांग्रेसले समानुपातिकबाट १५ महिला पठाउनुपर्ने हुन्छ । कांग्रेसले पाएको २० सिटमध्ये ५ जना मात्रै पुरुष पठाउन पाउनेछ ।

एमालेमा ५ महिला अनिवार्य

एमालेबाट राष्ट्रियसभामा १० र प्रतिनिधिसभामा २५ गरी संघीय संसदमा ३५ जना हुनेछन् । एमालेलाई ३५ जनाको ३३ प्रतिशतअनुसार १२ महिला आवश्यक पर्छ । राष्ट्रियसभामा ७ महिला भएकाले एमालेले समानुपातिकबाट ५ महिला पठाए पुग्नेछ ।

नेकपाको ४ महिला अनिवार्य

नेकपाबाट राष्ट्रियसभामा १८ र प्रतिनिधिसभामा १७ गरी संघीय संसदमा ३५ सदस्य हुनेछन् । ३५ को ३३ प्रतिशत १२ जना नेकपाबाट संघीय संसदमा प्रतिनिधि हुनुपर्नेछ । उसको राष्ट्रियसभामा ८ महिला भएकाले अब समानुपातिकबाट ४ महिला अनिवार्य पठाउनुपर्नेछ ।

श्रम संस्कृति पार्टी

श्रम संस्कृति पार्टीले प्रत्यक्षतर्फ ३ सिट जितेको छ । समानुपातिकतर्फ ४ सिट पाउनेछ । यदि समानुपातिकमा ४ सिट पाएमा  उसको ७ सिट हुनेछ । प्रत्यक्षतर्फ महिला निर्वाचित नभएकाले उसले समानुपातिकबाट ३ महिला र १ पुरुष पठाउन सक्नेछ ।

राप्रपा

राप्रपाले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १ सिट जितेको छ । यदि समानुपातिकमा ४ सिट पाएमा उसको ५ सिट हुनेछ । त्यसमा २ जना महिला अनिवार्य पठाउनुपर्नेछ भने बाँकी २ सिटमा पुरुष पठाए हुनेछ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५