मुलुकमा सूचना प्रविधिको भरपूर उपयोग कुनै पार्टीले गरेको छ भने त्यो नेकपा एमाले हो । गत शुक्रबार मात्रै देशभरीका ६ हजार ७ सय ४३ वडामा एकै पटक वडा अधिवेशनको उद्घाटन गरेको छ । यो पटकको उद्घाटनको अर्को रोचक पक्ष के भने सबै वडाको उद्घाटन् अध्यक्ष ओली आफैले एक क्लिकमा गरे ।
पहिला पहिला पार्टीका यस्ता कार्यक्रममा धेरै नेता कार्यकर्ताको सहभागिता हुन्थ्यो । वडा तहको कार्यक्रममा जिल्ला वा त्यो भन्दा माथिल्लो कमिटिका नेता प्रमुख अतिथि,अतिथि बन्थे । जिल्ला, प्रदेश वा त्यही खालका कार्यक्रममा सोही अनुरुपका नेताहरुलाई प्रमुख अतिथि वा अतिथिको रुपमा पार्टीले खाटाउने गर्दथ्यो । तर यसपाली त्यस्तो भएन । वडाको कार्यक्रममा पनि प्रमुख अतिथि, विशिष्ट अतिथि वा अतिथि सबै ओली नै ओली ।
एक हिसाबले वडा अधिवेशन ओलीमय भएको छ । मन्चहरु खाली प्राय देखिन्थे,स्क्रिनमा ओलीको चलायमान तस्विर बोलेको सुनिन्थ्यो । हल शान्त, बिल्कुल शान्त र अनुशासित । तल्लो तहका नेता कार्यकर्ताले आफुभन्दा माथिल्लो कमिटिका नेता कार्यकर्ता चिनिराख्नुपर्ने, खातिरदारी गर्नुपर्ने झण्झट भने आइलागेन । सोझै पार्टी अध्यक्षलाइ चलचित्रको पर्दामा चिनेपछि पुग्यो ।
पार्टी भनेको भावनाले जोडने हो प्रविधिले होइन । प्रविधि मुल होइन सहायक हो तर एमाले भने बढी प्राविधिक हुदै गएको छ । केही दिन अगाडीको गोदावरी विधान अधिवेशनले पार्टीको लेबी बुझाउन भौतिक रुपमा उपस्थित नभइ डिजिटल प्रविधिबाट बुझाउने प्रणलीको विकास गर्ने निर्णय गरेको छ ।
वडा स्तरका बैठक, भेलामा पनि अध्यक्षको ओलीको डिजिटल बोली सुन्ने र ताली बजाउने अनि लेबी मोवाइलबाट तिर्ने भएपछि भौतिक भेटघाट गौण हुने नै भयो ।
केही छिटफुट ठाउँलाई छोड्ने हो भने पार्टीको जग मानिने वडा नेतृत्व सर्वसम्मत चुनिएको छ । यसले के देखाउँछ भने स्क्रिनमा अध्यक्षको फोटो हेरेरै भावुक हुनेहरु नेतृत्वमा सर्वसम्मत भएका छन् । माधव नेपालहरु बहिरिएपछि हाइसन्चो भएको छ भन्ने ओलीको कथनलाई वडाका गतिविधिले पनि पुष्टी गरेको छ ।
तर यसले अर्को गम्भीर संकेत पनि गरेको छ, के पार्टी साच्चै संकटमा छ ? के पार्टीले भरोसा गुमाएको छ ? नेतृत्व गर्न लालयीत नहुने कार्यकर्ता भएको पार्टीको भविष्य धेरै लामो हुदैन ।
दुई तिहाइको सरकारको नेतृत्व गरेर वालुवाटार छिरेको पार्टी अध्यक्ष लज्जास्पद तरिकाले बालकोटको यात्रा तय गर्दा सडकमा हर्क बढाई गर्ने कार्यकर्ताले घेरिन्जेल त धेरै टाढा देखिंदैन तर प्रविधिको भर परेर मात्रै पार्टी बन्दैन । हेक्का राख्नुपर्ने कुरा के भने हाइटेक उद्घाटन् भन्दै जनता कार्यकर्ताबाट टाढै रहेर गरिएको नवौं महाधिवेशनको उद्घाटनको आकार्षक गेटमा कार्यकर्ताले नै आगो लगाएका थिए ।
भृकुटीमण्डपको हाइटेक गेटमा आगो लगाउने सबैजसो कार्यकर्ता माधव नेपालको नेकपा सामाजवादीतिर पक्कै गएका छैनन् होला । कार्यकर्ताको भावना बुझ्न भौतिक उपस्थिति नै जरुरी हुन्छ, डिजिटल उपस्थितिले के पुग्ला खै ? साैर्यदैनिकमा समाचार छ ।




खुल्ला प्रेस । ८ कार्तिक २०७८, सोमबार ०७:३१