अहिलेको गठबन्धनले देश बनाउन सक्दैन

जुम्ला: नेकपा (एमाले)का प्रचार विभाग उपप्रमुख विष्णु रिजालले टाउकाको मूल्य तोक्ने र तोकिनेहरुबीचको सहकार्यले मुलुकलाई गन्तव्यहीन बनाएको बताएका छन् ।

पार्टीको मिसन (ग्रासरुट) अभियान अन्तर्गत जुम्लाको चन्दननाथ–८, रोकाय बाडामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य रिजालले पदका लागि मात्रै बनेको गठबन्धनले देशलाई क्षति मात्र गर्ने बताएका हुन् । उनले भने, ‘जसरी एउटा डोरी दुईतिरबाट बराबर बल लगाएर जति तान्दा पनि जहाँको त्यहीँ हुन्छ र बल खर्च भए पनि गति आउँदैन, त्यसै गरी दुई विपरीत दिशातिर फर्केका काँग्रेस र माओवादीले देशलाई अघि बढाउँछौँ भने जति गफ लगाए पनि विपरीत दिशातिर फर्केकाहरूको सहकार्यबाट देश अघि बढ्न सक्दैन ।

’ कुनै नीति तथा कार्यक्रममा आधारित नभई पदीय भागबन्डा र एमालेलाई कसरी एक्लो बनाउने भनेर एमालेको त्रासका कारण बनेको गठबन्धन भएकाले यसको सम्पूर्ण समय यसैमा बितिरहेको उल्लेख गर्दै उनले भने, ‘विदेशीका एजेन्डा, काँग्रेसको दक्षिणपन्थ र माओवादीको अवसरवादको चक्रब्युहमा देश फसेको छ ।

यसबाट देशलाई मुक्त गर्नका लागि एमाले बहुमतसहित सरकारमा आउनुपर्छ ।’ कार्यक्रममा एमाले जुम्लाका अध्यक्ष शान्तिलाल महत, वडा कमिटी अध्यक्ष पदम सेजुवाल एमाले प्रदेश कमिटी सदस्य धनबहादुर थापा, जिल्ला कमिटी उपाध्यक्ष सुरतबहादुर शाही, सदस्यहरू तिल रावल, चन्द्रलाल न्यौपाने, राम खत्री, नगर कमिटी अध्यक्ष धर्मेन्द्र रोकायलगायतको उपस्थिति थियो । वडा स्तरीय भेलाले टोल–टोलमा पार्टी सदस्यता नवीकरण तथा विस्तारका लागि जिम्मेवारी बाँडफाँट समेत गरेको जनाइएको छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५