“मेरो गणना मेरो सहभागिता” भन्ने मूल नारा का साथ सुरु भएको सङ्घीय गणतान्त्रिक नेपालको पहिलो तथा नेपालको जनगणना इतिहासको १२ औँ जनगणना “राष्ट्रिय जनगणना” २०७८ को जिम्मेवारी बेरोजगार युवा विद्यार्थीलाई सुम्पिनु एकदमै नौलो र स्वागतयोग्य कदम थियो ।
जुन पहिलो चरणमा सुपरिवेक्षक द्वारा घर तथा घरपरिवार सूचीकरण गरी र दोस्रो चरणमा गणकहरू द्वारा मुख्य प्रश्नावली भरेर सम्पन्न भएको छ । राष्ट्रिय जनगणना २०७८ सफल पार्न घरदैलो मै पुगी तथ्याङ्क लिने क्रममा पहिलो पटक गाउँलाई नजिकै बाट नियाल्ने तथा वास्तविक नेपालको वास्तविक अनुहार चिनाउन अवसर प्रदान गर्ने तथ्याङ्क विभागलाई विशेष धन्यवाद । राजनीतिको बिग्रिँदो परिस्थितिका कारण राज्य तथा राजनीतिक दल प्रतिको आक्रोश अधिकांश गणकहरूले झेल्नुपर्ने चुनौती थियो।
गणना अवधिभर धेरै गुनासा तथा आक्रोशहरू पनि सुनियो÷देखियो । परिवारको विवरण दिन छोडी आफ्ना समस्याहरू देखाउँदै “यो राज्यले हामी गरिबहरूको लागि के गरेको छ ? के हामीलाई राहा दिन लाको होर ? कि फेरि त्यही भोट माग्ने चुनावको लागि होला हैन? “जस्ता प्रश्नहरू प्रति अनुत्तरित म सोच्थे साँच्चै राज्य कतिपय ठाउँमा त अन्धो पनि बनेको रहेछ । उहाँहरूको त्यो समस्या तथा आँसु देख्दा मनमा एउटा बिचार आउँथ्यो कि जनगणना गर्न नेताहरूलाई खटाउन पर्ने जसले गर्दा देशको, गाउँ÷टोलको, यहाँका जनताहरूको वास्तविक समस्या र उनीहरूको पिर मर्का देख्थे /बुझ्थे होला कि ? जहाँ सम्म मैले बुझे अनुसार प्रत्येक स्थानीय तह खुल्ला दिसामुक्त घोषणा भैसकेको छन् । तर दुःखद कुरा यहाँनिर छ कि त्यो सायद घोषणामा मात्रै सीमित भएछ । मुख्य प्रश्नावली भर्ने क्रममा “तपाईँकोको चर्पी कस्तो किसिमको छ?” भनेर सोध्दै गर्दा अधिकांश घरपरिवारले घरछेउ मै रहेको जङ्गल तिर इशारा गर्दै “हाम्रो चर्पी त त्यही हो, के गर्नु हजुर एउटा संस्थाले एउटा सार्वजनिक चर्पी बनाइदिएको छ त्यसमा बिहानै धेरै भिड हुन्छ वाकी सबैको चर्पी यही जङ्गल हो हामी त सधैँ त्यही जङ्गल मै जान्छौ चर्पी” भनेर भन्दै गर्दा आखिर कहाँनेर खुल्ला दिशामुक्त घोषणा भएछ त ? भन्ने प्रश्न उब्जियो ।

कतिपय सुपरिवेक्षक ज्युको कमजोरी भनौँ या त जिल्ला÷स्थानीय जनगणना कार्यालय वा अन्य निकायको कमजोरी भनौँ कतिपय सुपरिवेक्षक ज्यु लाई प्रभावकारी तालिम नदिँदा/नलिँदा उहाँहरूले घर सूचीकरणको बेला उतार फारममा गरेका कैयौँ गल्तीहरूको सामना गर्नु गणकहरूको लागि चुनौती नै थियो । त्यसो त तालिममा सिकिएका कुरा र समस्या समाधानका उपायहरू भन्दा भिन्नै समस्या र चुनौतीहरू फिल्डमा काम गर्दै गर्दा आउने रहेछन् जुन गणना अवधिमा अनुभव गर्न पाइयो।
जनगणनामा उत्साहपूर्वक सहभागी भइदिनको लागि सूचना तथा जानकारी सम्प्रेषण गर्न दूर सञ्चार कम्पनीहरूले निक्कै ठुलो भूमिका खेले । फोन गर्दा बज्ने टोन कै कारण गाउँमा कतिपयलाई जनगणनाको बारेमा थाह भएको कुरा मैले उहाँहरूबाट सुन्न पाए, जसले गर्दा जनगणनाको बारेमा अशिक्षित समाजमा जानकारी गराउन भने केही सहज भएकै थियो तर हामीले सोचेको भन्दा धेरै अशिक्षित समाज पाउनु एउटा दुःखद कुरा भने पक्कै थियो । जसको कारण कैयौँले तथ्याङ्क टिपाउन नमान्ने जस्ता समस्या पनि आए । गणनाका क्रममा कतिपय घरमा एकदम मिठो स्वागत पनि पाइयो ।
उहाँहरूको त्यो माया र सद्भाव गज्जब कै थियो ।घरबाट धेरै टाढा भोकै प्यासै काम गर्दै गर्दा उहाँहरूको त्यो आफ्नोपन र मानवताले खुसीको आँसु समेत निकाल्यो भने त्यही बस्ती मै कहीँ कतै नमिठो अनुभव पनि रह्यो । गणना गर्न आउनेलाई बेवास्ता गर्दै तथ्याङ्क नटिपाउने साथै यसको महत्त्व बुझाउँदै तथ्याङ्क टिपाउन आग्रह गर्न खोज्दा अपाच्य/ अश्लील शब्दको प्रयोग गरी नमिठो प्रहार समेत गरे जुन गणना अवधि भरकै नमिठो पल थियो । यसबाट समाजमा दुई किसिमका मानिसहरूको बसोबास रहेको मैले सम्म्याए ।
तथ्याङ्क विभागले गणना क्षेत्र कसरी छनौट ग¥यो त्यो त थाह भएन तर जुन विधिबाट गरेको भए पनि वैज्ञानिक किसिमको भने पक्कै थिएन साथै अपरिपक्व पनि देखियो । भूगोललाई आधार मानेको हो भनौँ भने भौगोलिक दुरीको ख्याल गरिएन । गणना क्षेत्र पुग्न मात्र २ घण्टा लाग्ने साथै फर्किन द्द घण्टा जसले गणना समय एकदम कम मिल्ने भयो । अब जनसंख्यालाई आधार मानेको भनौँ भने कुनै गणना क्षेत्रमा ४०० घर अनि कुनै गणना क्षेत्रमा ४० घर हुनु अनि गणक समान १/१ हुनु यति सानो ऋबअिगबितष्यल मा त पक्कै चुक नहुनुपर्ने । आफ्नो गाउँ ठाउँ भन्दा धेरै टाढा गणना क्षेत्र परेका अझ त्यसमा कुनै सवारी साधनको व्यवस्था नहुँदा गणना क्षेत्र पुग्न निक्कै सास्ती बेहोर्नु प¥यो साथै घरदेखि बाहिर खान बस्नको कुनै ठेगाना नहुने जस्ता समस्याहरूले झनै अप्ठ्यारो बनायो ।
गणनालाई “मेरो गणना मेरो सहभागिता” भन्ने मूल नारा दिए तापनि यहाँ गाउँमा जान्ने बुझ्ने स्थानीय जनप्रतिनिधिहरू द्वारा नै गाउँमा राम्रो प्रचारप्रसार गरेर सहभागिता बढाउन मद्दत गर्ने तथा घरमा कम्तीमा एक जना बसेर गणनामा सहयोग गरिदिन आग्रह नगर्नु अर्को दुःखद पक्ष थियो । यी सबै गल्ती तथा कमी कमजोरीका बाबजुद पनि जनगणना २०७८ सफल रूपमा नै सम्पन्न भयो । धेरै कुराहरू सिक्ने तथा सिकाउने मौका मिल्यो । यो भन्दा पनि विकट ठाउँहरूमा गणना झनै जटिल पक्कै रह्यो होला ।
यी सबै कमि कम्जोरिलाई मध्यनजर गर्दै २०८८ को जनगणना अझ वैज्ञानिक तथा सहज वातावरण मा सफल रहोस् यही आसा का साथ मेरो गणना मेरो सहभागिता राष्ट्रिय जनगणना २०७८ प्रतिको मेरो समीक्षा तथा कार्य अनुभव यही टुङ्ग्याउँछु, धन्यवाद
नरेन्द्र बहादुर बुढाथोकी
गणक राप्ती सोनारि–०२ बाँके राष्ट्रिय–जनगणना–२०७८




खुल्ला प्रेस । १३ मंसिर २०७८, सोमबार २०:५४