दैलेख ः अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले कर्णाली प्रदेशका प्रमुख तिलक परियारसमक्ष आयोगको वार्षिक प्रतिवेदन पेस गरेको छ।
आयोगको कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख भेषराज रिजालले नेपालको संविधानको धारा २९४ को परिच्छेद ८ अनुसार २८७ पृष्ठको वार्षिक प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेश गरेका हुन्। उक्त प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख परियारले मुलुकको सुशासन र विकास विरुद्ध हुने भ्रष्टाचारजन्य कार्य निवारण तथा न्यूनीकरण आयोगको महत्वपूर्ण भूमिका रहेको बताए।
‘अख्तियारका आगामी सञ्चालन हुने गतिविधिसहित कार्यसम्पादनले प्रभावकारिता बढाओस्,’ उनले भने, ‘गलत नियत राख्नेहरू निरुत्साहित बनुन् र नागरिकलाई सुशासनको प्रत्याभूति होस्।’ उनले आयोगको आगामी कार्य प्रगतिको कामना गरेका थिए। 
उक्त कार्यक्रममा निमित्त प्रमुख रिजालले आयोग सुर्खेत कार्यालयले आव २०७७/७८ मा गरेका कार्यसम्पादनबारे प्रदेश प्रमुखलाई प्रस्तुतिमार्फत जानकारी गराएका थिए। गत आर्थिक वर्षमा चिठीपत्र, ईमेल, पत्रपत्रिका, टेलिफोन, फ्याक्सलगायत माध्यमबाट एक हजार २२० उजुरी परेकामा ५७३ फछ्र्यौट भएको र बाँकी ६४७ उजुरी चालु आव २०७८/७९ मा सरिआएको उनको भनाइ छ ।
निमित्त कार्यालय प्रमुख रिजालका अनुसार सबैभन्दा बढी स्थानीय तहका उजुरी परेका छन्। प्रतिवेदनमार्फत उच्च पदस्थ कर्मचारीले सदाचारिता अपनाउनुपर्ने, सार्वजनिक खरिद प्रणालीमा सुधार आउनुपर्ने, उपभोक्ताबाट निर्माण हुने कार्यलाई व्यवस्थित गरिनुपर्ने, परामर्शदातालाई जिम्मेवार बनाउनुपर्ने लगायतका सुझाव दिइएको छ।




खुल्ला प्रेस । २९ कार्तिक २०७८, सोमबार २०:२७