काठमाडौंः सत्तारुढ पाँच दलले राष्ट्रिय सभाको निर्चाचनमा मिलेर जाने सहमति जुटाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ बसेको गबन्धन्धनको बैठकले यस्तो सहमति जुटाएको हो।
यस्तै उपनिर्वाचनमा पनि मिलेर जाने सहमति भएको प्रधानमन्त्री निवास स्रोतले जानकारी दिएको छ। ‘आगामी निर्वाचनसम्म गठबन्धनलाई निरन्तरता दिने सहमति भएको छ। राष्ट्रिय सभाको निर्वाचन र उपनिर्वाचन पनि मिलेर अघि बढ्न समझदारी बनेको छ,’ बालुवाटार स्रोतले भन्यो।
यस्तै गठबन्धनले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा राजनीतिक संयन्त्र बनाउने निर्णय गरेका छन्। ११ सदस्यीय संयन्त्रले सरकारका कामकारबाहीलाई प्रभावकारी बनाउनका लागि सुझाव दिने कार्यादेश पाएको छ।
संयन्त्रमा सत्ता गठबन्धनमा रहेका ५ वटा पार्टीबाट २–२ जना सदस्य रहनेछन्। सरकारको प्रतिनिधिका रूपमा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की पनि संयन्त्रका सदस्य रहनेछन्।
पौडेलले दुई महिना संयन्त्रको नेतृत्व गर्नेछन् भने त्यसपछि आलोपालोमा गठबन्धनमा आबद्ध पार्टीले त्यसको नेतृत्व गर्ने सहमति भएको छ।
संयन्त्रको बैठकमा प्रधानमन्त्री सहभागी हुने माओवादी नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए।




खुल्ला प्रेस । २२ कार्तिक २०७८, सोमबार २०:५८