आज विकसित देशहरूमा जनशक्ति (ह्युमन रिसोर्स) लाई मानव पुँजी (ह्युमन क्यापिटल) भन्न थालिएको छ । वास्तवमा अर्थतन्त्रको विकास र विस्तारका लागि पुँजी, प्रविधि र श्रम आवश्यक छन् । श्रम–सघन कतिपय कामलाई अब प्रविधिले सहज बनाइदिएको छ । चौथो चरणको औद्योगिक क्रान्ति थ्रीडी प्रिन्टीङको युगसम्म आइपुग्नुमा प्रविधिका क्षेत्रमा भएको निरन्तरको अध्ययन, अनुसन्धान र खोज प्रमुख कारण हुन् ।
त्यसकारण आजको युगमा मानव पुँजीको ठूलो महत्व छ ।स्थानीय सरकार भनेको के हो ? स्थानीय क्षेत्रको शान्तिसुरक्षा‚ विकास एवं प्रशासन स्थानीय क्षेत्रकै निर्वाचन प्रतिनिधिद्वारा सञ्चालन गर्ने सरकारलाई स्थानीय सरकार भनिन्छ । स्थानीय सरकार स्थानीय संस्थाबाट गरिने शासन हो‚ जसमा जनताबाट निर्वाचित प्रतिनिधि हुन्छन् । केन्द्रीय सरकारको सामान्य नियन्त्रण र निर्देशन भए पनि तोकिएको विषयमा आफ्नो क्षेत्रभित्र स्थानीय सरकारको पूर्ण अधिकार र उत्तरदायित्व हुने गर्दछ ।केन्द्रीय सरकारले समग्र देश र स्थानीय सरकार बिच समन्वय र नियन्त्रण गर्दछ भने स्थानीय सरकारले आफ्नो क्षेत्रभित्र समन्वय र नियन्त्रण गर्दछ ।
एउटा देशमा केन्द्रीय सरकार एउटा मात्र हुन्छ भने स्थानीय सरकार एकभन्दा बढी हुने गर्दछ । नेपालमा गाउँपालिका,नगरपालिका र प्रदेश लाई स्थानीय सरकारका रूपमा लिने गरिन्छ । स्थानीय सरकारको आवश्यकता स्थानीय स्तरमा जनचाहना अनुरूपका आवश्यकता पूर्ति गर्न‚ स्थानीय नेतृत्वको विकास गर्न‚ स्थानीय तहमा छरिएर रहेको शक्तिलाई एकीकृत गरी परिचालन गर्न‚ स्थानीय साधन स्रोत‚ सीप‚ प्रविधि‚ क्षमता एवं अनुभवको अधिकतम परिचालन गर्न‚ लोकतन्त्रको स्थानीय स्तर देखी नै संस्थागत विकास गर्न‚ स्थानीय जनतामा राजनीतिको व्यवहारिक ज्ञान वृद्धि गर्न‚ स्थानीय स्तरको योजना व्यवस्थापन (योजना पहिचान‚ तर्जुमा‚ कार्यान्वयन‚ अनुगमन‚ प्रतिफल बाँडफाँड) मा स्थानीय निकायलाई नै जिम्मेवार र जबाफदेही बनाउन‚ शासन व्यवस्थापनमा जनताको सहभागिता प्रवर्द्धन गर्न‚ जनतालाई स्थानीय स्तरमा नै सेवा सुविधा उपलब्ध गराउन‚ स्थानीय तहबाट नै सुशासनको स्थापना गर्न । खास गरी हामीजस्ता तेस्रो विश्वका मुलुकहरू आज पनि दक्ष जनशक्ति विकासका लागि समेत काम गर्न सकिरहेका छैनौँ ।
हाम्रो शिक्षा प्रणाली दक्ष र व्यावसायिक जनशक्ति उत्पादन अनुकूल छैन । सर्वप्रथम त दक्ष जनशक्ति भनेको के हो भनेर बुझ्नुपर्छ । वस्तुतः मानिस अर्थात् जनतामा रहेको शक्ति या काम गर्न सक्ने क्षमता नै जनशक्ति हो । दक्ष भन्नाले शारीरिक, मानसिक, बौद्धिक गुण, सीप तथा क्षमताले युक्त भन्ने बुझ्न सकिन्छ ।
समग्रमा दक्ष जनशक्ति भनेका निश्चित क्षेत्रमा काम गर्न सक्ने विशिष्ट ज्ञान र सीप भएका नागरिक हुन् । कुनै खास क्षेत्रमा विशेषज्ञता हासिल गरेका व्यक्तिहरू त्यस क्षेत्र वा कार्यका लागि विशिष्ट जनशक्ति हुन् । देश विकासका लागि दक्ष जनशक्ति अनिवार्य सर्त हो । यस्ता जनशक्ति देशको सामाजिक–आर्थिक विकासका लागि समृद्धिका लागि अभिन्न अङ्ग पनि हुन् । हुन त देश विकासका लागि अर्धदक्ष वा अदक्ष व्यक्तिको पनि महत्त्वपूर्ण भूमिका हुन्छ ।
यद्यपि विशिष्ट कार्यदक्षता भएको जनशक्ति देश विकासको भरपर्दो आधार हुन् र उनीहरूले विकासको गतिलाई तीव्रता दिन सक्छन् । यस्तो जनशक्तिको उत्पादनमा शिक्षाको अतुलनीय सम्बन्ध र योगदान हुन्छ । दक्ष जनशक्ति विकासका लागि सो अनुकूल शिक्षाको खाँचो पर्छ । परम्परागत र सैद्धान्तिक शिक्षाले व्यक्तिलाई दक्ष बनाउन सक्दैन । देशको आवश्यकता र सम्भावनामा आधारित प्रयोगात्मक शिक्षाको कार्यान्वयनले दक्ष जनशक्ति विकासको लक्ष्य हासिल गर्न सकिन्छ । अहिले विद्यमान हाम्रो शिक्षा प्रणालीका कारण उच्च शिक्षा हासिल गरेर पनि मानिसले विषय अनुसारको पेसा व्यवसाय वा जागिर गर्न सक्ने अवस्था एकदम कम छ ।
जसले गर्दा औपचारिक रूपमा जुन विषय पढेको भए पनि अधिकांशले अन्ततः शिक्षण पेसा रोज्ने गरेको पाइन्छ । यस्तो हुनुमा मुख्यतः शिक्षा र रोजगारीबिच तालमेल हुन नसक्नु मुख्य समस्या हो । बजारको माग अनुरूप शैक्षिक कार्यक्रम नहुँदा पढेलेखेका जनशक्तिलाई पनि रोजगारी पाउन मुस्किल भएको स्थिति छ । कतिपय व्यावसायिक तथा प्राविधिक शिक्षा हासिल गरेकाहरूलाई समेत सम्भाव्य रोजगार क्षेत्रको पर्याप्त व्यावहारिक ज्ञान नहुँदा रोजगारी पाउन कठिन भइरहेको देखिन्छ । यसमा शिक्षित दक्ष जनशक्ति रोजगारदातासम्म पुग्ने वातावरण नबन्नु एउटा कारण हो । यस्तै उच्च शिक्षा हासिल गरेका श्रम शक्तिको माग सेवा क्षेत्रको वृद्धि अनुसार बढेको छैन । तालिम प्राप्त दक्ष जनशक्ति कमी छ । हाम्रो शिक्षाले उत्पादन गर्ने दक्ष जनशक्ति र बजारमा उपलब्ध रोजगारीबिच सीप र दक्षताको हिसाबले धेरै ठाउँमा तालमेल मिलिरहेको छैन ।
शिक्षा र रोजगारीको समन्वयकै चर्चा गर्दा सबैभन्दा पहिला कुन क्षेत्रका लागि कति जनशक्ति आवश्यक पर्छ र त्यो माग प्रतिवर्ष कुन दरले पूरा गर्ने भन्ने अभ्यास हामीकहाँ हुन सकेको छैन । श्रम बजारको प्रक्षेपणबिना नै धमाधम जनशक्ति उत्पादन मात्र भइरहेको छ । त्यसैले अनुमान र तथ्याङ्कमा आधारित मूर्त योजना बनाएर काम गर्न सके दक्ष जनशक्ति सजिलै रोजगार बजारमा खपत हुन सक्छन् ।
यस्तो योजना बजार मागमा आधारित हुनुपर्छ, जसले शैक्षिक बेरोजगारको समस्या समाधान गर्न सहयोग गर्छ । दक्ष जनशक्ति उत्पादनको सन्दर्भमा वस्तुतः शिक्षा, श्रम, सीप र उत्पादनसँग जोडिने खालको हुनपर्छ । परम्परागत प्रणालीको शिक्षाबाट दक्ष जनशक्ति उत्पादन नहुने हुँदा यस्तो शिक्षाले देशको समृद्धिमा योगदान दिन सक्दैन । देशको उत्पादकत्व वृद्धिका लागि पनि दक्ष जनशक्तिको गुणात्मक विकास आवश्यक हुन्छ ।
निश्चित तहको शिक्षा हासिल गरेपछि यस्तो जनशक्तिलाई सजिलै रोजगारी पाउने वातावरणका लागि पर्याप्त व्यावहारिक अभ्यास हुनुपर्छ । यसका लागि पढ्दापढ्दै उत्पादनमा सहभागी हुने वा कुनै तह पार गर्न निश्चित परिणामको उत्पादन गरेकै हुनुपर्ने नीति अँगाल्नु अपरिहार्य देखिन्छ । देशका हरेक प्राविधिक शिक्षालय, क्याम्पस, विश्वविद्यालय जस्ता शैक्षिक प्रतिष्ठानले आफ्ना विद्यार्थीलाई सम्बन्धित विषयअनुसारको कुनै न कुनै उत्पादनमा जोड दिए मात्र त्यहाँबाट निस्किएका विद्यार्थी भोलिका दिनमा खास अर्थमा दक्ष जनशक्ति बन्छन् ।
हामीकहाँ मुख्य समस्या नै शिक्षित नागरिकमा स्वरोजगार मैत्री र आयआर्जनमूलक ज्ञान र सीपको अभाव हुनु हो । यसो हुनुमा माथि उल्लेख गरिए जस्तै समयसापेक्ष शिक्षाको कमी पनि हो । त्यसैले समयानुकूल, गुणस्तरीय र व्यावहारिक शिक्षा आजको मुख्य आवश्यकता हो । यीमध्ये कुनै पनि शिक्षा नेपालमा पूर्णतः कार्यान्वयन हुन सकेको छैन । हाम्रो शिक्षा दिनानुदिन व्यावहारिक भन्दा सैद्धान्तिक छ । यसै गरी शिक्षाको सैद्धान्तिक पद्धतिलाई परिमार्जन गर्न अति आवश्यक छ । त्यसैले पढेका विषयलाई व्यवहारमा उतार्ने र समय अनुकूल रोजगारमूलक शिक्षा हुने हो भने पक्कै पनि शिक्षा उपलब्धिपूर्ण हुनेछ ।
राज्यले उपलब्ध दक्ष जनशक्तिको उपयोग गरी अधिकतम लाभ हासिल गर्ने कार्यक्रम बनाउनुपर्छ । जनशक्तिले अध्ययन गरेको विषय वा सिकेको सीप अनुसारको क्षेत्रमा रोजगारीका अवसर सृजना गराउन पहल गर्नुपर्ने हुन्छ । अन्यथा मुलुकमा रहेको जनशक्तिले अन्य वैकल्पिक बाटो अपनाउन बाध्य हुन्छन् ।
मुलुकमा रोजगारीको अवसर नदेखेकै कारण ठूलो सङ्ख्यामा श्रम शक्ति वैदेशिक रोजगारमा गएको कारण पनि यही हो । नेपालको संविधान, २०७२ मा प्रत्येक नागरिकको मौलिक हकमा रोजगारी पनि राखिएको हुँदा यसको कार्यान्वयन हुन सकेको छैन । जसका कारण अहिले नेपाली युवा जनशक्ति विदेश पलायनले विकराल रूप लिँदै छ । जसलाई हामी ‘ब्रेन ड्रेन सिनड्रोम’ भन्छौँ ।
स्थानीय सरकारले विभिन्न तालिम, गोष्ठी सिप पर्बधन , शिक्षा , प्रविधि जस्ता कुरामा जोड दिँदै नयाँ प्रविधि विकासमा जोड दिए मात्र जनशक्ति उत्पादन हुने र त्यसलाई व्यवस्थापन गर्ने मुख्य जिम्मेवारी स्थानीय निकायको हो । “रूप हेरेर होइन सिप हेरेर जिम्मेवारी दिनुपर्ने हुन्छ” । जबकि नाता र गोताको भावमा डुबेर होइन सिप र प्रविधिको आधारमा जनशक्ति व्यवस्थापन गर्नुपर्ने हुन्छ । स्थानीय निकाय सरकारहरू आफै दक्ष छैनन् भने कसरी दक्ष जनशक्ति उत्पादन गर्लान् ।
जनक प्रसाद अधिकारी
भगवतीमाई ४ दैलेख




खुल्ला प्रेस । १४ बैशाख २०७९, बुधबार १५:२८