चुनाव नजिकिँदै छ, अब कस्तो नेता छान्नुहुन्छ ?

दीपराज थापा

नेपाली राजनीतिको कुरा गर्दा धेरैजसोले नेताहरूलाई नै भ्रष्ट भएको, जनताको मत बिर्सिएको, कृपावाद र नातावादमा फसेको, जनता र कर्मचारी सबै क्षेत्रलाई राजनीतिको बिउ रोपेकोजस्ता आरोपहरू लगाउने गरिन्छ । हुन त जनता नै दोषी हुन् भन्ने विज्ञहरू पनि धेरै नै पाइन्छ । जनता जस्ता छ्न्, उनीहरूले पाउने नेताहरू पनि उस्तै हुन् भन्ने पनि गरिन्छ । खैर, दोष जसको भए पनि नेपालले समृद्धि र विकासको बाटो भने लिन नसकेको कुरा कसैले पनि नकार्न मिल्दैन ।

जनता या नेता जसको दोष भए पनि देशमा सुशासन, रोजगारी, सामाजिक तथा आर्थिक सुरक्षाको ग्यारेन्टी भने नभएकै हो । कैयौँ पढेलेखेका र सीप हासिल गरेका दक्ष जनशक्ति देशमा रोजगारी हुँदो हो त बाहिर अरुको देशमा पसिना झार्न जाने पक्कै थिएनन् । गए पनि देशको आर्थिक अवस्था राम्रो भइदिएको भए फेरि बसाइँ सरेका भए पनि ती नेपालीहरूलाई अहिले झैँ पलायन भएको मानिने थिएन ।

समृद्ध राष्ट्रमा केही बाहिर सर्दैमा देशलाई दक्ष जनशक्तिको आवश्यकता नै कम पर्थ्यो । नभए इतिहासलाई पल्टाएर हेर्ने हो भने कैयौँ शक्तिशाली र सम्पन्न राष्ट्रहरूमा पनि मानिसहरू कि स्वतन्त्रता प्रयोग गर्न, कि त फरक वातावरण या संस्कृति अपनाउन या त फरक अवसर प्राप्त गर्न बसाइँ सरिरहन्छ्न् । नेपालको भने मुख्यगरी भ्रष्टाचार र आयातमा निर्भर भएर बाँच्नुले आर्थिक सुधार या क्रान्ति हुन सकेन ।

त्यसो त केही भएको छैन भन्न पनि गलत हुन्छ । हरेक युद्धकालीन समय र युगमा केही न केही परिवर्तनहरू आए र गरिए पनि । तर, पूर्ण समृद्धि र विकास भने हुन सकेन । पत्रकार तथा लेखक बसन्त बस्नेतले एउटा कार्यक्रममा ‘हामीले परिवर्तन त पायौँ तर अलिकति’, ‘अ लिटिलबिट प्रेग्नेन्ट’ भनेजस्तै ।

कुरा भएको ठ्याक्कै त्यही नै भयो । राजतन्त्र, प्रजातन्त्र, बहुदलीय प्रजातन्त्र, गणतन्त्र र लोकतन्त्र आदि त आए तर पूर्ण आर्थिक क्रान्ति हुन सकेन जसका कारण गरिब, असहाय र विभिन्न भाषा संस्कृति भएका मानिसहरूको शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका आधारभूत आवश्यकताहरू राज्यले पूरा गरोस् । देशलाई आवश्यक वस्तुहरूमा पूर्ण आत्मनिर्भर बन्न सक्थ्यो र कति कुराहरू निर्यात गर्न सक्थ्यो तर त्यसो हुन सकेन ।

जनताको त दोष ठूलो छ, किनभने दशकौँसम्म एउटै नेतालाई पटकपटक जिताएर फेरि त्यही कुर्सीमा पुर्‍याउने काम जनताले गरिरहेका हुन्छन् । सामान्यतया धेरै विकसित राष्ट्रहरूमा राजनीतिज्ञहरूले झुटो बोल्ने या गल्ती गर्ने सानो अवसर पनि दिइएको हुँदैन । यथार्थ र प्रमाणित भएका कुराभन्दा बाहिर सामान्यतया बोल्न पनि मन्त्री या सांसदहरूलाई गाह्रो हुने गर्छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मात्र एक जना यस्ता राष्ट्रपति बन्न सके, जसले सिधै गलत बोलेर त्यही हो तथ्य भन्न सक्थे र पत्रकारहरूलाई थर्काएर यस्तो प्रश्न गर्ने खराब पत्रकार भनेर उल्टै झपार्न सक्थे । झुट नै बोले पनि सम्पन्न राष्ट्रहरूमा जनताका आधारभूत आवश्यकता र शान्ति सुरक्षाका लागि प्रणाली बनाइएका हुन्छ्न्, जुन सरकार परिवर्तन भएको भरमा केही कतै डगमगाउँदैन, निरन्तर सञ्चालन भइरहन्छ र जनतालाई सेवा सुविधा प्रदान गरिरहन्छ । त्यसले एउटा व्यक्तिले के बोल्यो भन्नुले सामाजिक सञ्जालमा ठूलो उथलपुथल चलाए पनि वास्तविक नोक्सानी जनताको जीवनमा तुरुन्तै कम परेको हुन्छ ।

धेरै दुर्भाग्यको कुरा गर्दा, न्यायालय, शिक्षालय, कर्मचारी संगठनमा राजनीतिक हस्तक्षेप सिधै हुने गरेको राष्ट्रहरू विश्वमा धेरै कम छ्न्, जुन मध्य नेपाल पनि एउटा राष्ट्र बन्यो । पार्टीहरूको विधान पनि सकेसम्म कपाल नफुलुञ्जेलसम्म र नमरुञ्जेलसम्म व्यक्तिगत राजनीतिको भाँडो हुनुले अझ नकारात्मक असर पारेको देखिन्छ । नेपाली राजनीतिमा हेर्ने हो भने एउटै पदमा चालीसौँ वर्ष बस्ने नेताहरू भेटिन्छ्न्, जो वर्षौंसम्म आफ्ना नेता र कार्यकर्तालाई नातावाद र कृपावादको फूल रोप्न लगाइरहन्छ्न्, ताकि कैयौँ वर्षसम्म राजनीतिक दास बनिरहून् र अरुलाई पनि बनाइरहून् । अझ प्रस्ट भन्दा पार्टीहरू आफ्नो कुर्सी बचाउन र आफ्नो पार्टी बचाउन ज्यान दिएर लाग्ने गरेको देखिन्छ । तर, स्थायी आधारभूत राज्यका प्रणाली स्थापना गर्न जहिल्यै चुकिरहेका देखिन्छ्न् ।

आफ्नो देशले कैयौँ दशक एउटै र उस्तै नेताहरूको सेरोफेरोमा रहेर त्यति धेरै अवसर पाएका नेताहरूबाट जनताले गरेका अपेक्षाहरू पूरा नहुँदा अर्काको देशको ईर्ष्या गर्नु पनि कुनै नौलो कुरा भएन । यद्यपि विकसित र विशेष गरी कल्याणकारी लोकतन्त्रको अभ्यास भएका राष्ट्रहरूमा नेताहरूले गर्ने राजनीतिक अभ्यास र चरित्र या व्यवहार नै हाम्रोभन्दा फरक हुन्छ ।

आफ्नो देशले कैयौँ दशक एउटै र उस्तै नेताहरूको सेरोफेरोमा रहेर त्यति धेरै अवसर पाएका नेताहरूबाट जनताले गरेका अपेक्षाहरू पूरा नहुँदा अर्काको देशको ईर्ष्या गर्नु पनि कुनै नौलो कुरा भएन ।

कसरी देशले राज्यलाई कल्याणकारी बनाउन सके र जनताको पूर्ण हित, सुरक्षाको सेवा प्रदान गरेर पनि विकासको हकमा विश्वमै उच्च स्थान हासिल गर्न सफल भए त भन्ने जिज्ञासा आउनु पनि स्वाभाविक हो । मैले विश्वकै उत्कृष्ट कल्याणकारी लोकतन्त्रको अभ्यास भएका नोर्डिक राष्ट्रहरूमध्ये स्वीडेनको अध्यन गर्दा त्यहाँका हरेक नेताहरूमा मुख्यत: ज्ञान, इमान र नैतिकता तीनवटा कुराहरूले उनीहरूको गुण भरिएको पाएँ । म केही उदाहरणसँगै यस विषयमा प्रवेश गर्छु ।

फ्रेडरिक राइन्फेल्ट स्वीडिस प्रधानमन्त्रीहरूमध्येकै प्रखर वक्ता र राजनीतिक रूपमा सफल प्रधानमन्त्रीको रूपमा चिनिन्छ्न् । मोडेरेडटर्ना पार्टीका लिडर राइन्फेल्ट दुईचोटि (इ.स. २००६-२०१४) प्रधानमन्त्री भए । जब उनी तेस्रो निर्वाचनमा लडे, त्यतिखेर उनले भने, ‘मोडेरेडटर्ना सबैभन्दा ठूलो पार्टी हुन सकेन भने म सरकार र पार्टी प्रमुखको काम छोड्छु ।’

जब मत परिणाम आयो, सोसियल डेमोक्रेटिक पार्टीले सबैभन्दा बढी मत ल्यायो । तर, सरकारको खेमा भने राइन्फेल्टकै पक्षमा बढी थियो । आफ्नो वचन राख्न उनले सरकारमा नरहने निर्णय गरे र पार्टीको प्रमुखबाट राजीनामा दिए । राइन्फेल्ट प्रधानमन्त्री भएकै बेला सोसियल डेमोक्रेटिक पार्टीलाई एक बलियो र सक्षम नेतृत्वको खोजी थियो । उक्त पार्टीभित्र नयाँ पार्टीलिडर खोज्दैको हैरान थियो (इ.स.२०११) ।

ज्ञान र अनुभवले मात्र नपुगेर पार्टीलाई प्रखर वक्ताको पनि आवश्यकता थियो, जसले टेलिभिजन र रेडियोमा डिबेट हुँदा प्रधानमन्त्री भएका राइन्फेल्टलाई टक्कर दिनु मात्र होइन, हराउन नै सकोस् । नभन्दै सोसियल डेमोक्रेटिक पार्टीले धेरै नाम सुन्दै नसुनिएको तर लामो राजनीतिक अनुभव भएको व्यक्ति होकान जुहोल्टलाई पार्टीको नयाँ लिडरको रूपमा प्रस्तुत गर्‍यो । त्यतिबेला पार्टीभित्र संसदीय अभ्यास सिकेका र ज्ञान भएका अन्य धेरै लिडर भए पनि पार्टीको अधिवेशनबाट सर्वसम्मत उनलाई नै पार्टीलिडरमा छानियो ।

दुई/चार महिनाभित्रै उनी यति धेरै परिचित बने कि प्रधानमन्त्री राइन्फेल्टको भन्दा पनि बढी प्रखरता भएको व्यक्तिको रूपमा चिनिन थाले । जुहोल्टले छोटो समयमै पार्टी लाई जनमत संकलनको संख्या विश्वासिलो बनाउँदै लगे । तर, जुहोल्ट धेरै समय पार्टीलिडर रहन सकेनन् । त्यो इमानदारितासँग जोडिएको प्रश्नले गर्दा थियो । उनी कुनै बखत राजनीतिक काममा राजाधानी स्टोखोल्ममा बस्दा आफ्नो अपार्टमेन्टको भाडा श्रीमतीले आधा तिर्नुपर्ने तर जुहोल्टले तिरेको देखिएकाले नैतिकतामा ठेस पुग्न गयो । खबर निस्केको दुई दिनभित्रै जुहोल्टले राजीनामा दिए । उनी कहिल्यै मन्त्री या प्रधानमन्त्री नहुने गरी सधैँका लागि बिदा लिए । पार्टीले भने आफ्नो आकर्षण उस्तै राख्न सफल भयो र अर्को लिडर छान्न पनि सफल भयो ।

स्वीडेनमा लगातार पार्टीप्रति जनताको विश्वास कस्तो छ भनेर जनमत संकलन गरिन्छ । त्यही जनमतका आधारमा कैयौँ मन्त्री या पार्टीलिडरले राजीनामा पनि दिएका छ्न । योचाहिँ इमानभन्दा पनि नैतिकताको कुरा हो । एउटा जनमत संकलनकै आधारमा पनि आफूले विश्वास जित्न सकेनछु भनेर आफैँ राजीनामा दिएका घटना स्वीडेनमा धेरै छ्न् । ।

यता जुहोल्टले पार्टीलिडरबाट इमानदारिताका आधारमा राजीनामा दिए भने संसदीय निर्वाचनमा सोसियल डेमोक्रेटिक पार्टीभन्दा कम मत ल्याएको भनेर राइन्फेल्टले सरकार नै छोडे । राइन्फेल्टको इमानदारिता पनि यहाँ प्रशंसनीय छ ।

त्यसो त सोसियल डेमोक्रेटिक पार्टीको पहिलो महिला प्रधानमन्त्री हुन पाउने सौभाग्य बोकेकी मोना शालीनले चुनावमा थोरै मत ल्याएका कारण राजनीतिबाटै अवकाश लिइन् । एक जना अर्का मन्त्रीले २५ वर्षअघि बिजुलीको बिल नतिरेको कुरा पत्रकारले बाहिर ल्याउनेबित्तिकै राजीनामा दिए ।

स्वीडेनकै उदाहरण प्रस्तुत गर्नुमा स्वीडेन विश्वमै सबभन्दा कम भ्रष्टाचार हुने र सबैभन्दा बढी पारदर्शिता भएको कल्याणकारी राज्यमा पर्नु हो, जहाँ जनताको शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षामा सरकारले जिम्मेवारी लिने गर्छ भने विकास र समृद्धिमा पनि स्वीडेन विश्वकै अग्रस्थानमा रहेका देशहरूमध्येमा पर्छ ।

देशभित्र भएका अनियमितता खोज्न र छानबिन गर्न पत्रकारहरूलाई र विशेषत: राष्ट्रिय टेलिभिजनका पत्रकारहरूलाई विशेषाधिकार दिइएको हुन्छ । जनतालाई देखाउन नमिल्ने सायदै त्यस्तो कुरा स्वीडेन सरकारलाई आफ्नो देशको शान्ति सुरक्षाका कुराहरू मात्र हुन्छ्न्, जसलाई बाहिर देखाउन मिल्दैन । पत्रकारितामा सहित राजनीति पस्नु नेपालका लागि ठूलो दुर्भाग्य हो । सबै मिडिया र पत्रकारिता राजनीतिक स्वतन्त्रताभित्र रहने मात्र भए पनि नेतृत्वको खबरदारी सायद भिन्नै बन्ने थियो ।

चुनाव नजिकिँदै छ, अब फेरि त्यही पुरानै नेताहरूलाई फूलमाला लगाएर ५ वर्ष मौनधारण गरेर बस्ने कि नैतिकता, जिम्मेवारी, इमान र दक्षता भएका व्यक्तिहरू रोजेर राष्ट्रलाई समृद्धिको दिशामा अघि बढाउने भन्ने प्रश्न खडा भएको छ । मेरो विश्लेषणमा स्वीडेन चलाउने राजनीतिज्ञमा मुख्यतः इमान, ज्ञान र नैतिकता तीनवटा पक्षले देश र जनताको समृद्धिमा महत्त्वपूर्ण भूमिका खेलेको देखिएकाले तपाईंहरू सबैले निर्वाचन हुनुअघि गहिरिएर नसोचे फेरि वर्षौंसम्म चल्नुपर्ने रेलमा ब्रेक लाग्ने निश्चित छ । त्यसैले हतासमा होइन, सोचेर एक नैतिकवान्, क्षमतावान् र इमानदार नेतालाई चुनौँ ।

(लेखक तथा स्वास्थ्यकर्मी थापा स्वीडेनमा स्वास्थ्य विषयमा विधावारिधि गरिरहेका छन् ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५