कर्णालीमा समानुपातिक सांसदले जोगाए एमालेको बिउ

दैलेखः प्रतिनिधि सभा प्रत्यक्षतर्फ कर्णालीमा शून्य भएको नेकपा (एमाले)को बिउ समानुपातिक सांसदले जोगाएका छन् । १२ सिट रहेको कर्णालीमा प्रत्यक्षतर्फ एमालेका कुनै पनि उम्मेदवारले चुनाव जित्न सकेका थिएनन् । समानुपातिकबाट २ सिटमा प्रतिनिधित्व गर्दै एमालेको बिउ जोगिएको हो ।

दैलेखकी सूर्यकुमारी श्रेष्ठ आदिवासी जनजाति कोटाबाट समानुपातिक सांसद बनेकी छन् भने दलित कोटाबाट रुकुम पश्चिमका चन्द्रबहादुर विश्वकर्मा एमालेबाट प्रतिनिधि सभा सदस्यमा समानुपातिक सांसदमा सिफारिस भएका हुन् । श्रेष्ठ एमालेकी केन्द्रीय सदस्य हुन् भने विश्वकर्मा पूर्व माओवादी हुन् । श्रेष्ठ लामो समय महिला संगठनमा काम गरेर लाभको पदमा पुग्न सकेकी थिइनन् । यस्तै विश्वकर्मा जनयुद्ध लडेका र रामबहादुर थापा ‘बादल’ निकट नेता हुन् । एमाले विभाजनपछि उनी एमालेमै बसेका थिए  ।

दुवै जनाले पहिलो पटक संसद्को यात्रा तय गरेका हुन् । यस्तै प्रत्यक्षतर्फ ४ सिट जितेको नेपाली कांग्रेसले समानुपातिकमा प्रतिनिधि सभामा ३ सिट पाएको छ भने ४ वटै सिट प्रत्यक्षतर्फ जितेको नेकपा (माओवादी केन्द्र)ले समानुपातिकमा १ सिट पाएको छ ।

प्रत्यक्षतर्फ ३ सिट जितेको नेकपा (एकीकृत समाजवादी)ले समानुपातिक गुमाउँदा १ सिट जितेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिकमा पनि १ र रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकमा १ सिट सुरक्षित गर्न सफल भएको छ ।

कांग्रेसबाट समानुपातिक सांसद बनेकी जुम्लाकी कान्तिका सेजुवाल यसअघि चन्दनाथ नगरपालिकाको नगर प्रमुख भएर पाँच वर्षे कार्यकाल चलाएकी कर्णालीकी एक्ली महिला मेयर हुन् । उनी पार्टीको केन्द्रीय सदस्यसमेत हुन् ।

यस्तै जाजरकोटकी मैना रावल कार्की खसआर्य र दैलेखकी सीता कुमारी राना आदिवासी जनजाति समुदायबाट समानुपातिक सांसद चयन भएकी हुन् । राना कांग्रेसको केन्द्रीय सदस्य हुन् भने उनको विगत एनजिओकर्मी हो । उनी शोसेक नेपाल नामक संस्थाकी पूर्व अध्यक्ष हुन् । अहिले उक्त संस्था उनका श्रीमान् हिरासिंह थापाले चलाइरहेका छन् ।

माओवादीबाट समानुपातिक सांसद बनेकी जुम्लाकी छिरिङ ल्यामु लामा तामाङ  (३०) क्रान्तिकारी महिला संघको प्रदेश अध्यक्ष र चन्दनाथ नगरपालिका महिला संघकी इञ्चार्ज हुन् । माओवादीको सांगठनिक अवस्था राम्रै भए पनि आन्तरिक गुटबन्दीका कारण प्रत्यक्षतर्फ गोमा कुँवर पराजित भएकी थिइन् । जुम्लाको प्रतिनिधित्व संसद्मा कायम राख्नका लागि भए पनि माओवादीले लामालाई सांसद बनाएको हो ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट जुम्लाकी विनीता कठायत पनि समानुपातिक सांसद बनेकी छन्। २७ वर्षीया विनीता सम्भवतः कर्णालीकी सबैभन्दा कान्छी सांसद हुन्। उनी पिछडिएको वर्गको महिला कोटाबाट सांसद बनेकी हुन् । रवि लामिछानेको ‘सिधा कुरा विथ रवि लामिछाने’ कार्यक्रमको टिमकी सदस्य रहेकी उनी लामिछानेसँगै पार्टीमा लागेकी थिइन् ।

यस्तै प्रत्यक्ष तर्फ एक सिट पाएको राप्रपाले समानुपातिकमा पनि कर्णालीबाट एक सिट प्राप्त गर्न सफल भएको छ । प्रत्यक्षतर्फ जुम्लाबाट ज्ञानेन्द्र शाहीले चुनाव जितेका थिए । समानुपातिकमा दलित महिला कोटाबाट सल्यानकी २८ वर्षकी अनिशा नेपाली समानुपातिक सांसद चयन भएकी छन् । ८ जनामध्ये एक जना पुरुष र बाँकी महिलाहरूले समानुपातिकमा वर्चस्व जमाएका छन् । राताेपाटी

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५