
दैलेख ः दैलेखमा अझै पनि सुत्केरी महिलालाई ओसिलो गोठमा राख्ने प्रचलन यथावत् नै रहेको पाइएको छ ।
सोमबार सामाजिक सञ्जाल फेसबुकमा ‘एमकुमार शाही’ नाम राखेका ठाटीकाँध गाउँपालिकाका महेन्द्रकुमार शाहीले एउटा स्ट्याटस लेखे । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ‘गाईले बाछो पाउँदा भान्छा कोठाको न्यानो अगेना नजिक राख्ने र बुहारीले नाति पाउँदा गाई गोठको ओसिलो कुनामा राख्ने संस्कारले हामी अझैँ कुन युगमा छौँ भन्ने प्रस्ट पार्छ ।’
यो विषय नौलो भने होइन । वर्षौँदेखि यस्ता विषय सामाजिक सञ्जाल सँगै सार्वजनिक कार्यक्रम लगायतका स्थानमा उठ्ने गरेका छन् । जिल्लामा महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्ने सङ्घ संस्था पनि धेरै छन् । सङ्घ संस्थाले आफ्नो तर्फबाट यस्ता कु संस्कार हटाउन हरदम प्रयास गरे पनि दैलेखमा अझैँ यस्ता संस्कारले जरा गाडेर बसेका तथ्य भेटिन्छ । सङ्घ संस्थाका काम गर्ने कर्मचारी वा कुनै सामाजिक अभियन्ता गाउँमा जाँदा उनीहरूले कुरा बाहिर ल्याउने डरले मुख खोल्दैनन् तर परिवारको आग्रह महिलाले मानै पर्ने चलन पहिले देखिनै चल्दै आएको कारण महिलाहरू सुत्केरी हुँदा करिब ११ दिन सम्म गाई गोठमै बस्न बाध्य हुने गरेको सामाजिक सेवा केन्द्र (सोसेक) का अध्यक्ष हिरासिंह थापाले बताएका छन् ।
शाहीले लेखेको फेसबुक स्ट्याटसलाई पत्रकार भक्तबहादुर शाहीले साभार गर्दै तस्बिर समेत राखेर प्रस्टाएका छन् । पत्रकार शाहीले ‘हाम्रो ठाटिकाँध गाउँपालिकाको चलन’ भन्दै शिशु काखमा राखेर गोठमा बसेकी एक महिलाको तस्बिर सहित सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेपछि फेसबुकमा विभिन्न प्रतिक्रिया आएका छन् ।
त्यहाँ टिप्पणी गर्दै नेपाल महिला सङ्घ दैलेखका अध्यक्ष सिता कुमारी रानाले लेखेकी छन् ‘साँच्चिकै पीडा बोध भयो । सामाजिक रूपान्तरण गर्न सारै कठिन छ । जो सजिलै हुँदैन सयौँ वर्ष देखि चली आएका रीतिरिवाज जो अति नै डोमिनेट संस्कार, विभेदकारी चलनचल्तीलाई अन्त्य गर्न नेपाल सरकारले अभियानको रूपमा सञ्चालन गरोस् र यी पीडित अवरोध महिलाहरू माथि भएको अमानवीय र हिंसा रोक्न तत्काल स्थानीय सरकारले पहल गरोस् ।’
यस्तै पवित्रा सापकोटाले टिप्पणीमा ‘ म त स्तब्ध त्यति बेला पनि भएको थिए, जहाँ बालविवाह (१५–१६ वर्षको उमेरमा) नै हुँदा पनि सामान्य मानेर आँखा चिम्लने जनप्रतिनिधि, महिनावारीको समयमा छाउगोठमा बस्ने कर्मचारी र जनप्रतिनिधि महिला ९छोरा जन्मँदा स्वास्थ्य संस्थामा बाजागाजा बजाएर रमाइलो गर्दै घर पुग्ने, खाने पिउने, उता सुत्केरीलाई अँध्यारो गोठमा राख्ने र पोसिलो तातो खानेकुरा नखुवाउने’। यस्ता धेरै विकृति छन् त्यहाँ । गाउँपालिकाले चाहेमा यस्ता सामाजिक मुद्दालाई अभियान मार्फत परिवर्तन गर्न सम्भव छ तर अगुवाइ कसले गर्ने रु दुःख लागेर आउँछ ।
यो सवालमा थुप्रै टिप्पणी आएका छन् । जसले ठाटीकाँध गाउँपालिकाको वास्तविकता चित्रणसँगै कुप्रथा अन्त्य हुनुपर्छ भन्ने आवाजहरू उठेका छन् । अब तीनै तहका सरकारसँगै गैरसरकारी सङ्घ संस्था तथा आम नागरिकहरूले यस्ता खाले कुप्रथाहरू हटाउन विशेष पहल गर्नुपर्ने देखिन्छ । तब मात्र महिलाहरू महिनावारी हुँदा छाउगोठ वा गाई गोठमा बस्नुपर्ने बाध्यता सँगै सुत्केरी हुँदा गाई गोठको ओसिलो कुनामा बस्नुपर्ने बाध्यता अन्त्य हुनेछ ।
खुल्ला प्रेस । २ कार्तिक २०७८, मंगलवार १२:३२