पुस्तान्तरण नहुँदा हराउन थाले ‘काठका ठेकी’

जितेन्द्र थापा

दैलेख: कुनै समय थियो । गाउँमा सबैको घरघरमा भैँसी पालेका हुन्थे । सबैको घरघरमा काठले बनेका भाँडाहरुमा प्रशस्त दही, दूध, मोही पाइन्थ्यो । तर, पछिल्लो समय बढ्दो प्लास्टिकका भाडाको प्रयोग सँगै सिप पुस्तान्तरण नहुँदा काठका ठेकी हराउँदै गएका छन् । पहिले गाउँघरमा  प्रशस्त रूपमा पाउने ठेकीहरू अहिले कमै पात्र देख्न पाइन्छ । काठको अभाव, खर्च बढी लाग्ने भएका कारण पनि लोप हुँदै गएको जानकारहरू बत्ताउँछन् । अर्को समस्या भनेको काठका भाँडाकुँडा बनाउन कुनै पनि सरकारले प्रोत्साहन नगरेका कारण पनि समस्या रहेको जानकारहरूको भनाई छ । बढ्दो महँगी, बजारमा आएका आधुनिक सामाग्रीले पनि त्यस्ता भाँडाहरु ओझेलमा पर्दै गएका छन् । पहिले गाउँका बुढापाकाले बनाउने काठका भाँडा वर्तन नयाँ पुस्ताले चासो दिएको देखिन् ।

पहिले घरमा भैँसी पाल्ने किसानहरूले अहिले पाल्न छाडेका छन् । त्यही मध्यका एक हुन दैलेखको ठाटीकाँध गाउँपालिका–२ का कलम थापा । आफ्ना पहिलेका पुराना दिन सम्झिनै उनी भन्छन्, ‘जुग जमाना भनेका त पहिलेकै राम्रा । अहिलेका त के का जुग जमाना सबैमा विष मात्र हुन्छ ।’

पहिले उनको घरमा दुई वटा दुहुनो भैँसी हुन्थे त्यही अनुसार दही दूधसँगै काठका भाँडाकुँडा प्रशस्त हुन्थे  । तर, पछिल्लो समय बजारमा आउने प्लास्टिकको भाडा प्रयोगमा आउन थाले र काठमा भाडा लोप हुन थाले पछि उनी चिन्तित छन् । उनी भन्छन्–‘प्लास्टिकमा जमाएको दही र काठको भाँडामा जमाएको दहीको स्वादै धेरै अन्तर हुन्छ ।

पछिल्लो समय दैनिक प्रयोजनमा आउन छाडेपछि काठबाट निर्माण गरिने ठेकी लोप हुँदै गएको छ । किसानले गाई भैँसी पाल्न छाडेपछि गाउँ बस्तीमा ठेकी कमै मात्र प्रयोगमा आउन थालेको किसानले बताउने गरेका छन् ।

त्यस्तै दैलेखको आठबिस नगरपालिका –२ का कपुरे शाही पनि पहिले पहिलेका दिन सम्झिँदै अहिले दिक्क मान्ने गरेको बताउँछ । पहिले काठका भाडामा दूध दही मही राखिन्थ्यो अहिले बजारमा प्लास्टिकका भाडा सस्तोमा पाउन थालेपछि काठका भाडा ओझेलमा परेको उनको भनाई छ ।

उनका अनुसार पछिल्लो समय बजारमा प्लास्टिकका भाँडा सस्तोमा पाइन थालेपछि पनि काठका ठेकी प्रयोगमा कमी आएको हो । गाई भैँसी दुहुँदा प्रयोग हुने गाबुको सट्टा बाल्टिन, दही जमाउन प्रयोग हुने ठेकीको सट्टा प्लास्टिकका भाँडा बजारमा सस्तोमा पाइन्छ । यसले गर्दा परम्परागत गिठो, खिर्रो बुरुस लगायत नरम काठबाट स्थानीय स्तरमै उत्पादन हुने काठका ठेकी लोप हुन थालेका छन् । पहिले परम्परागत रूपमा गिठो लगायत विभिन्न बिरुवाहरू रोपेर हुर्काउने गरे पनि पछिल्लो समय नयाँ पुस्ताले त्यस तर्फ चासो नदेखाएकोले यस्ता बोट बिरुवा पनि लोप हुँदै गएका छन् ।

जाजरकोटको नलगाड नगरपालिका–४ का मालबहादुर खत्रीका अनुसार विगतमा दूध बिक्री हुँदैनथ्यो । दूध जमाउन ठेकी प्रयोग हुन्थ्यो । अहिले बजारमा दूधकै माग बढेपछि दूध जमाउने र घिउ बनाउने कार्य प्रायः किसानले छाडिसकेका छन् । भैँसीबाट राम्रो आम्दानी हुने देखेपछि पाँच वटा भैँसी पालेको छु । दूध बजारमा बिक्री हुन्छ, ‘दूध जमाउनु नै पर्दैन । घरमा एक थोपा दूध रहँदैन, ठेकी राखेर के गर्नु ?

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५